१९ सिटे विद्युतीय यात्रुवाहक विमानको पहिलो परीक्षण सफल
चीनमा विकसित १९ सिट क्षमताको विद्युतीय यात्रुवाहक विमानले चालक दलसहितको पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ । व्यावसायिक उड्डयन क्षेत्रमा ब्याट्रीबाट चल्ने विमान भित्र्याउने दिशामा यसलाई चीनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
चिनियाँ सरकारी स्वामित्वको विमान निर्माता कम्पनी ‘कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना’ (कोम्याक) द्वारा निर्मित १० टन तौलको ‘सीई–२५ ए’ विमानले गत शनिबार (नोभेम्बर १४) उत्तरी शानडोङ प्रान्तमा चालक दलका तीन सदस्य (दुई पाइलट र एक इन्जिनियर) सहित पहिलो मानवीय परीक्षण उडान भरेको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले कोम्याकलाई उद्धृत गर्दै जनाएअनुसार परीक्षणका क्रममा विमानले सामान्य रूपमा काम गरेको र यसका सबै प्राविधिक सूचकहरू अपेक्षाअनुरूप पाइएका छन् । प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न सक्ने क्षमता भएको यो विमानले एक पटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रु बोकेर उडान गर्न सक्छ ।
कोम्याक सम्बद्ध पत्रिकाका अनुसार शनिबारको परीक्षणका क्रममा विमानले ६० किलोमिटर दूरी पार गरेको थियो । यसअघि चालक दलबिना (मानवरहित) १९ वटा परीक्षण उडान पूरा गरिसकेको उक्त विमानको पहिलो सफल उडान गत फेब्रुअरीमा गरिएको थियो । सार्वजनिक भएका दृश्यहरूमा निजी जेटको आकारको रातो रङको उक्त विमान धावनमार्गबाट उडेको, आकाशमा स्थिर रहेको र पुनः सुरक्षित अवतरण गरेको देखिन्छ ।
विश्वव्यापी उड्डयन उद्योगमा कार्बन उत्सर्जन नियन्त्रण गर्नु प्रमुख चुनौती बनिरहेका बेला इन्धनको खपत र वातावरणीय प्रदूषण घटाउन विद्युतीय विमानलाई भरपर्दो विकल्पका रूपमा हेरिएको छ ।
यसैबीच, कोम्याकले निर्माण गरेको परम्परागत इन्धनबाट चल्ने ‘सी–९१९’ विमानले गत अगस्टमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको थियो । साँघुरो संरचना (न्यारो-बडी) भएको सी–९१९ लाई बोइङको ७३७ र एयरबसको ए–३२० को मुख्य प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको छ । दशकौँदेखिको बोइङ र एयरबसको विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने चीनको प्रयासका रूपमा हेरिएको उक्त विमानले अमेरिकी र युरोपेली नियामक निकायबाट भने उडान सञ्चालनको अनुमति पाउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस