देशको संवेदनशील परिस्थितिमा निर्वाचन सुनिश्चित गर्न शीर्ष नेताको एकमत
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने विषयमा शीर्ष राजनीतिक नेतृत्वबीच समझदारी भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। छलफलमा निर्वाचनको वातावरण बनाउने विषयमा सहमति बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण निर्माणका लागि थप विस्तृत छलफल प्रधानमन्त्री निवास बालुवाटारमा गर्ने समझदारीसमेत भएको छ।
छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको वर्तमान परिस्थिति गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका रूपमा निर्वाचनको घोषणा गरिएको स्पष्ट पारेका थिए। ‘देशको परिस्थितिलाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको साझा र प्रमुख दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले बताए।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाबाट बाहिर निस्कन निर्वाचन नै उपयुक्त विकल्प भएको उल्लेख गर्दै आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस