बुवाको बञ्चरो प्रहारबाट दुई सन्तानको मृत्यु
दैलेखमा आफ्नै श्रीमानको बञ्चरो प्रहारबाट दुई नाबालक सन्तानको मृत्यु भएको छ भने श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा शनिबार बिहान करिब ९:३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सामान्य घरायसी विवादका क्रममा भएको उक्त आक्रमणमा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए । उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएका उनीहरूलाई चिकित्सकले बिहान ११:१० बजे मृत घोषणा गरेका हुन् ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलीले आक्रमणमा संलग्न अम्बर सलामी मगरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ ।
अत्यन्तै संवेदनशील यस घटनाबारे प्रहरीले हिरासतमा रहेका अभियुक्तमाथि थप अनुसन्धान अगाडि बढाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस