कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, महाधिवेशन कार्यतालिका हेरफेर होला?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ।
बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
१५औँ महाधिवेशनका लागि तोकिएको समयभित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम पूरा हुन नसकेपछि कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ। यसअघि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, क्रियाशील सदस्यता नटुंगिनु लगायतका कारण कार्यतालिका प्रभावित भएपछि संशोधन आवश्यक परेको हो।
पार्टीभित्र वडा अधिवेशनको मितिलाई लिएर फरक–फरक मत देखिएको छ। संस्थापन पक्ष आगामी माघ २ गते वडा अधिवेशन गर्नुपर्ने पक्षमा देखिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ गते नै वडा अधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको स्रोतको भनाइ छ।
यसअघि १५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पुस १६ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस