Techie IT
२०८२ पौष ११, शुक्रबार

महाधिवेशन विवाद चर्कँदै जाँदा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँ


महाधिवेशनको विषयलाई लिएर विवाद फेरि चर्कँदै गएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले अबको १६ दिनभित्र क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनतर्फ जानुपर्ने प्रस्ताव राखेका छन्।

महामन्त्री शर्माले भने, “नेपाली कांग्रेसको महाधिवेशन नेतृत्व चयनमा मात्रै सीमित हुनुहुँदैन, सकारात्मक सन्देश दिने अवसर पनि हो। अहिले हामी महाधिवेशनमै केन्द्रित छौँ। जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव सम्भव छैन। यसका लागि सरकारले वातावरण बनाउनुपर्छ। फागुनभन्दा वैशाखमा चुनाव गर्नु उपयुक्त हुन्छ।”

उनले पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्ने उल्लेख गर्दै महाधिवेशनको मिति केही दिन हेरफेर हुनसक्ने संकेत पनि गरेका छन्।

यसैबीच, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका आन्तरिक विषयलाई अतिरञ्जित ढंगले सार्वजनिक गर्नुभन्दा पार्टीकै बैठकमा राख्नु उपयुक्त हुने बताएका छन्। “कसैलाई दोष दिने कुरा छैन। सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ। महामन्त्रीलाई क्रियाशील सदस्यता व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ। अब कति समय लाग्छ भन्ने टुंगो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन कठिनाइ छैन। त्यसपछि अधिवेशन रोकिने छैन, सहज रूपमा सम्पन्न हुन्छ,” उनले भने।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बस्दै आएको छ।

बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी रहेको छ। बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्ना धारणा राखिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट