साम्राज्यवाद र नवउदारवादका कारण सामाजिक असमानता गहिरिँदै गएको छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता गहिरिँदै गएको बताएका छन्।
माओत्सेतुङको १३३ औँ जन्मजयन्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भने, “आज विश्व साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ। यही परिस्थितिमा अध्यक्ष माओका विचार, उहाँले गर्नुभएको सङ्घर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छन्।”
प्रचण्डले माओले देखाउनुभएको बाटो इतिहासमा सीमित नभई आजको व्यवहारिक मार्गदर्शन भएको उल्लेख गरेका छन्। “माओले देखाउनुभएको बाटो केवल इतिहासको विषय होइन, बरु राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शनसमेत हो,” उनले भने।
उनले सामन्तवाद अन्त्यका लागि भएको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भएको उल्लेख गर्दै यस प्रक्रियाले पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताए।
“यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्नु र समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार बनेको छ,” प्रचण्डले उल्लेख गरेका छन्।
माओ दिवसको सन्दर्भमा प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादविरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्षको आवश्यकता औंल्याएका छन्। “अवसरवाद, वैचारिक विचलन र अराजकतावादजस्ता प्रवृत्तिहरूविरुद्ध कठोर सङ्घर्ष बिना समाजवादी क्रान्ति सफल हुन सक्दैन। विचारमा स्पष्टता, व्यवहारमा एकता र सङ्घर्षमा दृढता नै माओ दिवस मनाउनुको वास्तविक र सार्थक अर्थ हो,” उनले भनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस