Techie IT
२०८२ पौष १२, शनिबार

बालेनले अगाडि सारेको विचारधारा के हो ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जोडेर चर्चा हुँदै आएको राजनीतिक दल देश विकास पार्टी पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन खोजिरहेको देखिन्छ। 

निर्वाचन आयोगमा २०७९ असार २९ गते ‘हाम्रो नेपाली पार्टी’ नाममा दर्ता भएको यो दलले २०७९ मंसिर ४ को प्रदेश सभा निर्वाचनमा बागमती प्रदेश सभामा दुई सिट जित्दै संसदीय उपस्थितिसमेत जनाइसकेको छ। २०८२ सालमा नाम परिवर्तन गर्दै देश विकास पार्टी बनेको यस दललाई बालेनको सम्भावित राष्ट्रिय राजनीतिक यात्रासँग जोडेर हेरिँदै आएको छ।

पार्टी स्थापना हुँदा अनन्तराज घिमिरे नेतृत्वमा रहे पनि हाल नेतृत्व फेरिएको छ। अहिले पार्टीको अध्यक्षमा सन्ध्या खनाल रहेकी छन् भने ‘लौरो’ चुनाव चिह्न बोकेको दलमा २१ जना केन्द्रीय सदस्य छन्। यता, २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेनले ‘काठमाडौं बनाउने’ एजेन्डाबाट लोकप्रियता कमाएका थिए। पछिल्लो समय उनको गतिविधि र अभिव्यक्तिले उनी स्थानीय तहको सीमाभन्दा बाहिर राष्ट्रिय राजनीतिमा भूमिका खोजिरहेका छन् ।

बालेन हाल राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीसँग सहकार्य वा एकताको सम्भावनामा संवादमा रहेकाले उनी अनिवार्य रूपमा देश विकास पार्टीमै आवद्ध हुन्छन् भन्ने निश्चित छैन। तर उनीसँग नाम जोडिएको यस पार्टीको वैचारिक धरातलले बालेनको राजनीतिक सोच बुझ्न मद्दत गर्छ। निर्वाचन आयोगमा पेस गरिएको अद्यावधिक कागजातअनुसार पार्टीले हालै विधान संशोधन गर्दै आफ्नो राजनीतिक दर्शन स्पष्ट पारेको छ।

२०८२ मा संशोधित विधानको प्रस्तावनामा देश विकास पार्टीले कुशासन र भ्रष्टाचारविरुद्ध २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको मर्म आत्मसाथ गरेको उल्लेख छ। पार्टीले समाजवादलाई आफ्नो स्थायी मूल्यका रूपमा स्वीकार गरे पनि त्यसलाई परम्परागत राज्य–केन्द्रित समाजवादभन्दा फरक ढंगले परिभाषित गरेको छ। विधानअनुसार पार्टीको मूल सिद्धान्त “समावेशी सहभागितामूलक सेवामुखी योग्यतावादी समाजवाद” हो, जसले लोकतन्त्र, सामाजिक न्याय र दक्ष नेतृत्वलाई एकैसाथ अघि बढाउने दाबी गर्छ।

पार्टीले शासनलाई शक्ति संकेन्द्रणको अभ्यास होइन, सेवाको माध्यम मानेको छ। राज्य शासक होइन, जनताको सेवक हुनुपर्छ भन्ने अवधारणालाई विधानले बारम्बार दोहोर्‍याएको छ। सबै नागरिक शासन प्रक्रियामा सहभागी हुने भए पनि नेतृत्व र निर्णयको जिम्मेवारी योग्य व्यक्तिलाई दिनुपर्ने धारणा पार्टीको केन्द्रीय विचार हो। यहाँ योग्यता केवल प्रतिस्पर्धाको मापन नभई क्षमता, विवेक र करुणाको समिश्रणका रूपमा व्याख्या गरिएको छ।

देश विकास पार्टीले अगाडि सारेको विचारधारालाई परम्परागत साम्यवादी वा पूँजीवादी ढाँचामा सीमित गर्न सकिँदैन। सामाजिक न्याय र समावेशितासँगै दक्षता र नतिजालाई महत्व दिने यस अवधारणालाई राजनीतिक विश्लेषकहरूले ‘हाइब्रिड’ विचारधाराका रूपमा हेर्न थालेका छन्। लोकतन्त्रले सबैलाई बोल्ने अधिकार दिन्छ भने योग्यताले ती आवाजलाई देश विकासका लागि छनोट गर्ने चेतना दिन्छ भन्ने पार्टीको विश्वास छ।

समग्रमा, देश विकास पार्टीको वैचारिक संरचना नतिजामुखी, मानव–केन्द्रित र सेवामुखी शासनको अवधारणामा आधारित देखिन्छ। यदि बालेन शाह औपचारिक रूपमा यस दलसँग जोडिए, नेपाली राजनीतिमा परम्परागत वाम–दक्षिण विभाजनभन्दा बाहिरको नयाँ राजनीतिक धार स्थापित हुने सम्भावना देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट