कैलाली–४ बाट एमालेका उपमहासचिव भट्टको एकल सिफारिस
नेकपा एमालेका केन्द्रीय उपमहासचिव लेखराज भट्टको नाम कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल रूपमा सिफारिस गरिएको छ।
शुक्रबार बसेको एमाले कैलाली–४ क्षेत्रीय समन्वय कमिटीको बैठकले भट्टको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले बैठकले सर्वसम्मत निर्णय गर्दै भट्टको नाम पार्टी जिल्ला कमिटीलाई सिफारिस गरेको जानकारी दिएका छन् ।
उनका अनुसार अब जिल्ला कमिटीले निर्णय गरी प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा सिफारिस पठाइनेछ। अन्तिम निर्णय भने पार्टी केन्द्रीय कमिटीले गर्नेछ।
भट्ट काठमाडौँको भृकुटीमण्डपमा गत मंसिरमा सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मतसहित उपमहासचिवमा निर्वाचित भएका थिए।
नेकपा विभाजनपछि एमालेमै रहेका भट्ट यसअघि कैलाली–४ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस