Techie IT
२०८२ पौष २५, शुक्रबार

डडेलधुरामा देउवालाई टक्टर दिदै विद्यार्थी नेता दिनेश ऐर


जेन–जी आन्दोलनपछि नेपालका अधिकांश राजनीतिक दलहरूले युवालाई केन्द्रमा राख्ने रणनीति अपनाएका छन्। समानुपातिक उम्मेदवार सूचीमा नयाँपन ल्याएको, पहिले अवसर पाएकाहरुलाई नदोहोर्याउने रणनिति लिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को व्यापक प्रशंसा भइरहेको छ। यही सन्दर्भमा नेकपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि युवालाई प्राथमिकता दिने आकलन गरिएको छ।

लामो समयदेखि डडेलधुराबाट लगातार निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नेकपाले युवा नेता दिनेश ऐरलाई अगाडि सार्ने तयारी गरेको छ। नेकपाले डडेलधुरा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा ऐरलाई सिफारिस गरिसकेको छ।

दिनेश ऐर हाल अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिका अध्यक्ष हुन्। उनी युवामाझ लोकप्रिय नेताका रूपमा परिचित छन्। सुदूरपश्चिम प्रदेश सम्पर्क समितिको तर्फबाट सिफारिस गरिएका ऐर पूर्व नेकपा (माओवादी केन्द्र) डडेलधुरा–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्षसमेत हुन्।

उम्मेदवारी सिफारिसपछि ऐरले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजनीतिक उद्देश्य र आन्दोलनको पक्ष स्पष्ट पार्दै वक्तव्य सार्वजनिक गरेका छन्।  ऐरले बदलिँदो राजनीतिक परिवेशमा परिवर्तन, विकास र सुशासनका लागि सक्षम युवानेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै आफ्नो उम्मेदवारी त्यसैको आवश्यकता भएको दाबी गरेका छन्।

उनका अनुसार डडेलधुरा जिल्ला राजनीतिक रूपमा पटक–पटक देशको केन्द्रमा पुगे पनि विकास र समृद्धिको दृष्टिले भने अझै पछाडि नै छ। “यही यथार्थ परिवर्तन गर्ने दृढ संकल्पका साथ म प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चाहन्छु,” उनले उल्लेख गरे। उनले देशको कुल जनसंख्यामा युवाको हिस्सा ठूलो भए पनि नीति निर्माण तहमा उनीहरूको आवाज कमजोर रहेको ऐरको भनाइ छ। डडेलधुराका युवा रोजगारी, शिक्षा र अवसरको खोजीमा विदेशिन बाध्य रहेको उल्लेख गर्दै उनले अब युवाले केवल मतदाता होइन, निर्णायक नेतृत्वमा पुग्नुपर्ने समय आएको बताएका छन्।

नेकपाले देउवाको गढ मानिने डडेलधुरामा युवा उम्मेदवार अघि सारेर राजनीतिक सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट