Techie IT
२०८२ पौष २५, शुक्रबार

भेनेजुएला प्रकरणमा सुशिला सरकारको ‘नजिकबाट नियाल्ने’ नीति लाजमर्दो : पूर्वप्रधानमन्त्री डा. भट्टराई

कसैलाई सबैको अगाडि बलात्कार भइरहँदा पनि टुलुटुलु हेरेर बस्न मिल्छ र ?


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि भएको अमेरिकी दमनको सन्दर्भमा नेपाल सरकारले दिएको ‘नजिकबाट नियालिरहेको छ’ भन्ने अभिव्यक्तिको चर्को आलोचना गरेका छन्।

बिहीबार राति सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै डा. भट्टराईले सार्वभौमसत्तासम्पन्न राष्ट्रका प्रमुखलाई सैन्य बल प्रयोग गरी अपहरण गरिएको घटनामा पनि केवल ‘नजिकबाट नियाल्ने’ भन्नु लाजमर्दो भएको टिप्पणी गरेका हुन्।

उनले यस्तो निष्क्रियतालाई उदाहरणसहित व्यङ्ग्य गर्दै प्रश्न गरेका छन्, ‘कसैलाई सबैको अगाडि बलात्कार भइरहँदा पनि टुलुटुलु हेरेर बस्न मिल्छ र ?’ भन्दै नेपालको वर्तमान परराष्ट्र नीतिप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

डा. भट्टराईका अनुसार सरकारको यस्तो धारणा नेपालले परम्परागत रूपमा अंगाल्दै आएको पञ्चशील सिद्धान्त, असंलग्न परराष्ट्र नीति, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्ति, मानव मूल्य–मान्यता र सामान्य नैतिकतासमेतको प्रतिकूल छ।

उनले नेपालजस्तो जटिल भू–राजनीतिक अवस्थिति भएको मुलुकका लागि यस्ता संवेदनशील अन्तर्राष्ट्रिय विषयमा मौनता साँध्नु गम्भीर राष्ट्रिय सुरक्षा र समग्र राष्ट्रहितसँग जोडिएको विषय भएको पनि औंल्याएका छन्।

डा. भट्टराईले अमेरिकी सरकारको कुनै अमूक नीति वा कार्यको विरोध गर्नु समग्र अमेरिकी राज्य वा जनताको विरोध नभएको स्पष्ट पार्दै मित्र राष्ट्रको गलत कामको विरोध गर्नु भनेको उसलाई सतर्क गराई सुधारतर्फ सघाउनु भएको उल्लेख गरेका छन्।

यस्तो संवेदनशील र राष्ट्रिय हितसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अन्तरिम सरकार गम्भीर बन्नुपर्ने तथा प्रमुख दल र नेताहरू मूकदर्शक नबन्नुपर्नेमा उनले जोड दिएका छन्। अन्य विषयमा मतभिन्नता भए पनि परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाका सवालमा व्यापक राष्ट्रिय सहमति अनिवार्य रहेको डा. भट्टराईको धारणा छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट