म हल्लाको पछि लागेको छैन - महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई कुनै पद नचाहिएको स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज सम्बोधन गर्दै थापाले पदका लागि नभई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्न विशेष महाधिवेशन गरिएको बताए ।
उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैलाई अधिकार रहेको भन्दै प्रश्न उठाउनु आफैँमा विद्रोह भएको धारणा राखे।
“यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो,” थापाले भने।
महामन्त्री थापाले पार्टीभित्र गुठभन्दा गिरोह हाबी हुँदै गएको उल्लेख गर्दै पार्टी रूपान्तरण अपरिहार्य भएको बताएका छन् । साथै, बाहिर फैलाइने हल्लाको पछि नलाग्न नेताकार्यकर्तालाई आग्रह गरे। अहिले बाहिर अनेक हल्ला चलाइँदै छ, कसैले भागबण्डाका लागि भनिरहेका छन्। म हल्लाको पछि लागेको छैन, तपाईंहरू पनि नलाग्नुस् उनले भने, “यो हलको म्यान्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने कुनै पनि सहमति, हलले अपनत्व लिएपछि मात्रै अघि बढ्छ।”
थापाले विशेष महाधिवेशनलाई उपलब्धिमूलक र सकारात्मक निष्कर्षमा पुर्याउन सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।



तपाईको प्रतिक्रिया दिनुहोस