राष्ट्रपति पौडेलको जापान जादै, सम्राट नारुहितोसँग भेट र प्रधानमन्त्रीसँग वार्ता हुने
राष्ट्रपति रामचन्द्र पौडेल आजदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा निस्कँदै छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन् । भ्रमण पूरा गरी उनी माघ २१ गते सोही एयरलाइन्सको उडान नम्बर ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन् । माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री ताकाइची सानाएबीच भेटवार्ता हुने तालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता हुनेछ ।
यस्तै, राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान कार्यक्रमसमेत उपस्थित हुने मन्त्रालयले जनाएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस