निर्वाचनमा ३१ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान
प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्।
राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा उक्त विवरण सार्वजनिक गरेकी हुन्।
उनले सरकार फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सक्रिय रहेको स्पष्ट पारिन्। चुनाव सर्ने हल्लाबारे राखिएको प्रश्नमा उनले भनिन्, “चुनाव सर्दैन, किन सार्नु र ? यो बेला ३१–३२ अर्ब खर्च हुन्छ। सबै निर्वाचनमा त होइन। भौतिक साधनको अभाव पूरा गर्न, व्यवस्थापन मिलाउन ठूलो खर्च भइरहेको छ। विभिन्न देशबाट सहयोग पनि आइरहेको छ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सम्पन्न गरी नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने प्रतिबद्धता दोहोर्याइन्।
उनले कतै कुनै कारणले निर्वाचन प्रभावित भए दोस्रो चरणमा भए पनि मतदान गराइने बताइन्। हिमाली जिल्लाहरूमा चिसोका कारण समस्या आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर र सतर्क रहेको पनि दोहोर्याइन्।



तपाईको प्रतिक्रिया दिनुहोस