Techie IT
२०८२ माघ २३, शुक्रबार

आफ्ना नेताले बालिकाको हत्या गरेको घटनाको छानबिनमा सहयोग गर्ने रास्वपाको घोषणा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट चार वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी स्तब्ध र मर्माहत भएको छ” विज्ञप्तिमा भनिएको छ । पार्टीले मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध रहने विज्ञप्तिमा भनिएको छ ।

कानुनी प्रक्रिया अघि बढाउन र पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखिने महामन्त्री बुर्लाकोटीले स्पष्ट पारेका छन् । साथै पीडित परिवारलाई सम्भव भएसम्म राहत र सहयोग उपलब्ध गराउन पार्टीले आवश्यक पहल गरिरहेको जानकारी पनि दिएका छन् ।

उनले चुनावी अभियानमा प्रयोग हुने सवारी साधनको परिचालनमा उच्च सतर्कता अपनाउन तथा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न पार्टीपङ्ति र उम्मेदवारलाई कडा निर्देशन दिएको उल्लेख गरेका छन् ।

बिहीबार दिउँसो साढे दुई बजे रौतहटको इशनाथ नगरपालिका–३, मठिया टोलमा रास्वपाले चुनावी प्रचारमा प्रयोग गरेको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट चार वर्षीया अल्फा खातुनको मृत्यु भएको थियो । सो गाडी रौतहट–२ का रास्वपाका उम्मेदवार सागिर आलमले प्रयोग गरेका थिए ।

दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट