बालिकाको ज्यान लिदा पनि रास्वपा किन यति धेरै गैरजिम्मेवार बनिरहेको छ? - रक्षा बम
जेन–जी अभियन्ता रक्षा बमले रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले चार वर्षीया बालिकाको ज्यान लिएको घटनाप्रति गम्भीर प्रश्न उठाएकी छन्। गाडीको अगाडिको भागले ठक्कर दिएपछि पछाडिको भागले किचेर बालिकाको मृत्यु भएको भन्दै उनले यसअघि एमालेका मन्त्रीको घटनामा जस्तै पार्टीगत बचाउमा नउत्रिन चेतावनी दिएकी हुन्।
सामाजिक सञ्जालमा लेख्दै उनले सबै राजनीतिक दलमा आबद्ध समर्थकहरूलाई नेताको पक्षमा आँखै चिम्लेर बचाउ नगर्न आग्रह गरेकी छन्। उनले लेखेकी छन्, “सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ।”
रक्षाले रौतहटको घटनालाई स्मरण गर्दै भनिन्, “गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ। हिजो एमाले मन्त्रीको गाडीले मान्छे ठोक्दा नेतृत्वबाट आएको गैरजिम्मेवार र तल्लो स्तरको अभिव्यक्तिले हामीलाई आक्रोशित बनाएको थियो। आज ठीक त्यही गल्ती रास्वपाका समर्थकहरूले दोहोर्याइरहेका छन्।”
उनले दुर्घटनामा संलग्न गाडीमा उम्मेदवार स्वयं थिए वा थिएनन् भन्ने कुरा अनुसन्धानको विषय भएको उल्लेख गर्दै हाल सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी रहेको बताइन्। “जिम्मेवार अभिव्यक्ति दिनुहोस्, कानुनलाई सघाउने स्पष्ट प्रतिबद्धता जनाउनुहोस्,” उनले लेखेकी छन्।
रक्षाले राजनीतिक दल वा नेता जो कोही भए पनि अपराध अपराध नै हुने र कसुरअनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै सरकारलाई विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेकी छन्। “कुनै पनि राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगरियोस्,” उनले चेतावनी दिएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस