निर्वाचन आचारसंहिता उल्लङ्घनबारे ५१ उजुरी, ३० को मात्र जवाफ प्राप्त - आयोग
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ५१ वटा उजुरी दर्ता भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण सोधिएको छ। तीमध्ये ३० वटा उजुरीको जवाफ प्राप्त भइसकेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग समेत स्पष्टीकरण माग गरिएको हो। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि पत्राचार गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
उनका अनुसार जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भई आवश्यक कारबाही अघि बढाइएको छ। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्राप्त उजुरीमाथि जाँचबुझ गरी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको आयोगले स्पष्ट पारेको छ।
यसैगरी निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।
आयोगका अनुसार छोटो समयमै जिल्लास्तरका सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको छ। जिल्लामा प्राप्त उजुरीका सम्बन्धमा स्थानीय तहमै स्पष्टीकरण सोधी दोषी देखिएकामाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस