रास्वपाले धनगढीबाट चुनावी सभा सुरू गर्ने, बालेन आउलान् त?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनगढीबाट आफ्नो चुनावी सभा सुरू गर्ने भएको छ। पार्टीले मास प्रदर्शनसहितको जनप्रदर्शन आयोजना गर्न लागेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
उक्त सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा उपस्थित भई सम्बोधन गर्ने कार्यसूची रहेको छ। रावलका अनुसार, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यही फागुन ६ गते कैलाली जिल्लाको धनगढी, पशुपति टोल (महोत्सव स्थल) मा जनसम्बोधन कार्यक्रम गर्ने तयारी गरिएको छ।”
पार्टीले कम्तीमा सात स्थानमा ठूला सभा आयोजना गर्ने योजना बनाएको छ। तर प्रदेशस्तरीय सभा कहाँ–कहाँ हुने भन्ने विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।
यसअघि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता अलग–अलग रूपमा भ्रमणरत थिए, तर यसपटक संयुक्त सम्बोधनका लागि पार्टीले तयारी गरेको हो। वरिष्ठ नेता बालेन शाहले यसअघि कोशी प्रदेशका पहाडी जिल्लादेखि सुदूरपश्चिमका जिल्लासम्म भ्रमण गरिसकेका छन् र हाल मधेस प्रदेशका विभिन्न जिल्लामा भ्रमण गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस