नेपाली कांग्रेसको आह्वान : ‘नयाँ ऊर्जा र विज्ञ जनशक्ति कांग्रेसमा जोडिनुस्’
प्रवक्ता देवराज चालिसेले शुक्रबार विज्ञप्ति जारी गर्दै बदलिँदो राजनीतिक परिवेशमा विभिन्न पेशा र क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई औपचारिक रूपमा कांग्रेसमा सहभागी हुन आह्वान गरेका छन्।
विज्ञप्तिअनुसार सभापति गगन थापाको नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
कांग्रेसले ‘ऐतिहासिक संक्रमणको घडी’ उल्लेख गर्दै वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने तथा चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम र नागरिक समाजका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आग्रह गरेको छ। समाज रूपान्तरणमा योगदान गर्न इच्छुक विज्ञ, पेशाकर्मी र बुद्धिजीवीहरूलाई कांग्रेसको लोकतान्त्रिक अभियानमा जोडिन अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी जनशक्तिको सहभागिता अपरिहार्य रहेको विश्वास व्यक्त गरेको छ। साथै, कांग्रेस विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंच भएकाले व्यक्तिको व्यक्तिगत प्रभावभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइने, तथा पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीति अवलम्बन गरिने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस