रूख सुकेजस्तै कांग्रेसको चुनावि परिणाम, सातै प्रदेशमा भने जोगियो उपस्थिति
प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो पार्टी बनेको कांग्रेस यसपटक भने कमजोर अवस्थामा पुगेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले १४ स्थानमा मात्रै विजय हासिल गरेको छ भने केही सिटमा सीमित अग्रता कायम गरेको छ।
देशभरबाट प्राप्त पछिल्लो मतपरिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रूख’ चिन्हमा मत खस्ने दर उल्लेख्य रूपमा घटेको देखिएको छ भने परम्परागत गढहरू समेत भत्किएको संकेत नतिजाले दिएको छ।
यद्यपि कमजोर परिणामका बाबजुद कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम राखेको छ। केही ठूला दलहरू निश्चित भूगोलमा सिमित हुने संकेत देखिँदा कांग्रेसले भने थोरै सिटमै भए पनि सातै प्रदेशमा प्रतिनिधित्व कायम राख्न सफल भएको छ।
कुन प्रदेशबाट को विजयी?
हालसम्मको परिणामअनुसार कोशी प्रदेशबाट कांग्रेसले ३ सिट, मधेसबाट १ सिट, बागमतीबाट १ सिट, गण्डकीबाट २ सिट, लुम्बिनीबाट २ सिट, कर्णालीबाट ४ सिट र सुदूरपश्चिमबाट २ सिट जितेको छ।
कोशी प्रदेशमा पाँचथर-१ बाट नरेन्द्रकुमार केरुङ र तेह्रथुम-१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन्।
मधेस प्रदेशमा कांग्रेसलाई ठूलो धक्का लागे पनि रौतहट-२ बाट मो. फिरदोस आलम विजयी हुँदै मधेसमा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
बागमती प्रदेशमा रसुवा-१ बाट मोहन आचार्य निर्वाचित भएका छन्।
गण्डकी प्रदेशका हिमाली जिल्लामा कांग्रेसले आफ्नो परम्परागत प्रभाव जोगाएको छ। मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ विजयी भएका छन्।
लुम्बिनी प्रदेशमा कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाह र पाल्पा-१ बाट सन्दीप राना निर्वाचित भएका छन्।
कर्णाली प्रदेशमा भने कांग्रेसको उपस्थिति सबैभन्दा बलियो देखिएको छ। सुर्खेत-१ बाट विष्णुबहादुर खड्का, जाजरकोट-१ बाट खडकबहादुर बुढा, दैलेख-१ बाट वासना थापा र हुम्ला-१ बाट जयपति रोकाया विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशमा डोटी-१ बाट भरतबहादुर खड्का र अछाम-१ बाट भरतकुमार स्वार निर्वाचित भएका छन्।
यसैबीच जारी मतगणनामा सोलुखुम्बु र बाजुरामा समेत कांग्रेसले अग्रता कायम राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस