Techie IT
२०८२ चैत्र ४, बुधबार

नयाँ सरकार गठनको काउन्टडाउन शुरू, चैत १२ मा सांसदको शपथ हुने


फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गतेसम्म गराउने र पहिलो बैठक चैत १५ गते बसाल्ने गरी संसद सचिवालयले तयारी अघि बढाएको छ।

सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम र निर्वाचित सदस्यहरूको विवरण बुझाएपछि सचिवालयले आवश्यक प्रक्रिया शुरू गर्नेछ। आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको छ र सोही दिन सचिवालयलाई नवनिर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराउने सम्भावना छ।

नामावली प्राप्त भएपछि सचिवालयले सांसदहरूलाई शपथमा उपस्थित हुन सात दिनको सूचना जारी गर्नेछ। यसैबीच शपथ समारोहका लागि राष्ट्रपतिको समय माग गर्दै पत्राचार पनि गरिनेछ।

कानुनी व्यवस्थाअनुसार आयोगले उपलब्ध गराएको विवरणका आधारमा ज्येष्ठ सदस्यलाई सभामुखको जिम्मेवारी तोकिनेछ। राष्ट्रपतिले उक्त ज्येष्ठ सदस्यलाई अन्य सदस्यभन्दा अगाडि शपथ गराउने प्रावधान रहेको छ। यी सबै प्रक्रिया पूरा गर्दा चैत १२ गतेसम्म सबै सांसदको शपथ सम्पन्न हुने अनुमान गरिएको छ।

शपथपछि राजनीतिक दलहरूले संसदीय दलका नेता चयन गर्नेछन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। यदि चैत १२–१३ भित्रै सरकार गठन भए, चैत १५ गते प्रतिनिधिसभाको पहिलो बैठक बसाल्ने तयारी सचिवालयले गरेको छ।

नवनिर्वाचित सांसदहरूको शपथ र प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमै आयोजना गरिनेछ। सचिवालयका अनुसार भवनको बाहिरी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ भने भित्री तयारी लगभग सम्पन्न भइसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट