गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शुक्रबार केन्द्रीय कार्यसमितिमा पेस गरिएको छ।
बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमार्फत ‘सभापतिको राजीनामा अस्वीकृत गर्ने’ प्रस्ताव अघि सारेका हुन्।
प्रस्तावमा राजनीति क्षेत्रमा ‘हनिमुन पिरियड’ अर्थात् नेतृत्व सम्हालेको सुरुवाती करिब सय दिनलाई पूर्ण मूल्याङ्कनका लागि पर्याप्त नमानिने उल्लेख गरिएको छ। सोही आधारमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएको छोटो, करिब ५० दिनको अवधिमा समग्र मूल्याङ्कन गरी निष्कर्ष निकाल्नु उपयुक्त नहुने तर्क गरिएको छ।
प्रस्तावमा भनिएको छ कि प्रतिकूल अवस्थालाई अनुकूलतामा रूपान्तरण गर्ने जिम्मेवारीबाट पछि हट्नु संगठनप्रति न्याय नहुने भएकाले सभापतिले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने आवश्यकता देखिएको हो।
यद्यपि, सभापति थापाले देखाएको नैतिक जिम्मेवारीको भावनालाई उच्च सम्मान गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थालाई सम्हाल्ने प्रमुख दायित्व उनकै काँधमा रहने निष्कर्ष प्रस्तावमा राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस