५ घण्टा सांसदको कुरा सुनेपछि ५ मिनेट मात्र प्रधानमन्त्री वालेनको जवाफ
प्रधानमन्त्री वालेन्द्र शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समानुपातिक सांसदहरूसँग एकमुष्ट छलफल गरेका छन्।
यसअघि प्रत्यक्ष निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा छलफल गरिसकेका उनले समानुपातिक सांसदहरूलाई भने एकैपटक बोलाएका हुन्। दिउँसो १२ बजे सुरु भएको बैठक करिब ५ घण्टासम्म चलेको थियो, जसमा ११० जना समानुपातिक सांसदमध्ये अधिकांशको उपस्थिति रहेको थियो। प्रत्येक सांसदलाई आफ्नो धारणा राख्न १ मिनेट मात्र समय दिइएको थियो।
छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू प्रधानमन्त्रीको सचिवालयले टिपोट गरेको थियो भने सांसदहरूले ल्याएका लिखित सुझावहरू दर्ता गर्ने व्यवस्था पनि गरिएको थियो।
तर, प्रतिपक्षी दलका केही सांसदहरूले प्रत्यक्ष निर्वाचित सांसदहरूसँगै समानुपातिक सांसदहरूलाई पनि एकैचोटि बोलाइएको भए छलफल अझ प्रभावकारी हुने बताएका छन्।
छलफलका क्रममा केही सांसदहरूले सरकारको १०० बुँदे कार्ययोजना र राष्ट्रिय प्रतिबद्धतापत्रमा भारतसँगको सीमा समस्यालाई समावेश नगरिएको विषयमा प्रश्न उठाएका थिए । साथै, योजना कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोतको सुनिश्चितताबारे पनि चासो व्यक्त गरिएको थियो। मधेस, कर्णाली र सुदूरपश्चिमका सांसदहरूले आफ्ना क्षेत्रीय मुद्दाहरू जोडदार रूपमा उठाएका थिए।
सांसदहरूको धारणा सुनेपछि प्रधानमन्त्री शाहले छोटो पाँच मिनेट मात्र प्रतिक्रिया दिँदै समानुपातिक सांसदहरूले आफूलाई कमजोर नठान्न आग्रह गरे। उनले आफूले झापा–५ मा उल्लेखनीय योगदान नगरे पनि चुनाव जितेको उदाहरण दिँदै एउटै क्षेत्रसँग मात्र बाँधिनु आवश्यक नरहेको बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस