सुकुम्बासी बस्तीमा डोजर चलाउनु सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत हो - नेता बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार चाँडै जनताको मन र सत्ताबाट बाहिरिने दाबी गरेका छन्। अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सरकारको कदमप्रति कडा आक्रोश व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले बालेन्द्र शाहले सुरक्षा प्रमुखलाई बोलाएर “शनिबार - आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर” भन्ने उर्दी जारी गरेको आरोप लगाएका छन्। उनले उक्त निर्णयले सरकारको ‘असली चरित्र’ उजागर भएको टिप्पणी गरेका छन्। साथै, सोही दलका सभापति रवि लामिछानेले विगतमा सुकुम्बासीको पक्षमा दिएको अभिव्यक्ति स्मरण गर्दै उनले प्रतिबद्धता कहाँ हरायो भन्ने प्रश्न उठाएका छन्।
बस्नेतले सरकारको नीति र कार्यशैलीप्रति प्रश्न उठाउँदै सुकुम्बासीलाई व्यवस्थापन गर्ने कि विस्थापित गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताएका छन्। “गरिबी हटाउने कि गरिबलाई नै समाप्त पार्ने?” भन्दै उनले सडक विस्तार, फुटपाथ व्यवस्थापन र भन्सार नीतिका नाममा साना व्यवसायी र विपन्न वर्गमाथि अन्याय भइरहेको आरोप लगाए।
उनले विद्यार्थी तथा कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले सरकार लोकतान्त्रिक मार्गभन्दा टाढा गई अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको दाबी गरे। बस्नेतले यस्तो ‘जनविरोधी’ र ‘गरिबमारा’ शासनविरुद्ध जनता चुप लागेर नबस्ने चेतावनीसमेत दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस