सीता जयन्तीलाई राष्ट्रिय पर्व बनाउन प्रभु साहको माग
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारसँग माग गरेका छन्।
आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चा, काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा शनिबार कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले नेपालमा राम नवमी र कृष्ण अष्टमी जस्ता पर्वहरू मनाइने भए पनि राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई आवश्यक प्राथमिकता नदिइएको बताए। “हामीले सीता जन्मोत्सवलाई राष्ट्रिय गौरवका रूपमा भव्य ढङ्गले मनाउनुपर्छ,” उनले भने।
साहका अनुसार माता सीताको जीवन प्रेम, त्याग, समर्पण र संघर्षको अद्वितीय उदाहरण मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोत पनि हो। सीताले देखाएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ मार्गदर्शन गर्ने उनको भनाइ छ।
उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहँदा पनि सीता जयन्तीलाई सार्वजनिक बिदासहित राष्ट्रिय पर्वका रूपमा मनाउने प्रस्ताव राखिएको तर अस्वीकार भएको स्मरण गरे। हालको बालेन शाह नेतृत्वको सरकारसँग उक्त विषयमा सकारात्मक पहल हुने अपेक्षा गरिएको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस