नेपाल–नर्वे शिक्षा सहकार्य गर्ने विशेष पहल, मन्त्री पोखरेल–राजदूत म्युसबीच उच्चस्तरीय छलफल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्युसले शिष्टाचार भेटवार्ता गरेकी छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रका विविध विषयमा नर्वे सरकारसँगको सहयोग र सहकार्यबारे विस्तृत छलफल भएको थियो। विशेषगरी वर्तमान सरकारका प्राथमिकता, विद्यालय शिक्षा सुधार, तथा नर्वेले पुर्याउँदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा कुराकानी केन्द्रित रहेको स्रोतले बताएको छ ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा क्षेत्रमा विशेषतः समावेशिता, समता, आधारभूत सिकाइ तथा ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ जस्ता क्षेत्रमा नर्वेले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए । उनले नर्वेको उन्नत शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालले त्यसबाट सिकेर आफ्ना कार्यक्रमहरू सुदृढ बनाउन सक्ने उल्लेख गरे।
राजदूत डागनी म्युसले नेपालको शिक्षा क्षेत्रमा नर्वेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, नेपाल सरकारका १०० बुँदे प्राथमिकताबारे आफू जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे सरकार इच्छुक रहेको बताइन्।



तपाईको प्रतिक्रिया दिनुहोस