Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

प्रमाण सङ्कलन तीव्र पार्दै छानबिन समिति, पूर्वगृहमन्त्री गुरुङलाई बयानमा बोलाउने छानबिन समितिको तयारी


विवादित सेयर खरिद प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री सुधन गुरुङसँग छानबिन समितिले बयान लिने तयारी गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टको मातहतमा रहेका लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद गरेको विषयमा विवाद उत्पन्न भएपछि गुरुङले मन्त्री पदबाट राजीनामा दिएका थिए।

भट्टको कम्पनीमा गुरुङको ५० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको तथ्य फेला परेपछि रकमको स्रोतमाथि प्रश्न उठेको थियो। पूर्वगृहमन्त्री गुरुङले भने आफूले सापटी लिएर उक्त सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।

यस प्रकरणको विस्तृत छानबिनका लागि मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले गुरुङलाई बयानका लागि मानसिक रूपमा तयार रहन पूर्वसूचना दिइसकेको छ। समितिका एक सदस्यका अनुसार उनलाई बुधबार वा बिहीबारमध्ये एक दिन बयानका लागि बोलाइनेछ।

समितिका अध्यक्ष भण्डारीले हाल प्रमाण सङ्कलनको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन्। "एकपछि अर्को प्रमाणहरू फेला पर्दै छन्, हामी अहिले प्रमाण सङ्कलनकै क्रममा छौँ," अध्यक्ष भण्डारीले भने- "प्रमाण सङ्कलन सकिएलगत्तै एक–दुई दिनभित्रै पूर्वगृहमन्त्रीको बयान लिएर प्रतिवेदन तयार पारिनेछ।"

समितिले हाल बैंक खाता, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को विवरण तथा सञ्चारमाध्यममा आएका समाचारहरूलाई मुख्य आधार बनाएर अनुसन्धान अगाडि बढाएको छ। मन्त्रिपरिषद्ले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यदेश (टीओआर) दिएकोमा छानबिन सुरु भएको १० दिन भइसकेको छ।

महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको यस समितिले प्रतिवेदन बुझाउन अब ५ दिन मात्र बाँकी छ। सेयर विवाद चर्किएपछि गुरुङले गत वैशाख ९ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट