कांग्रेसको छाया सरकार घोषणा, आङ्देम्बे बने छाया प्रधानमन्त्री
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने र संसदीय भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित ‘छाया सरकार’ गठन गर्ने प्रस्ताव अघि सारेको छ। कांग्रेसले विभिन्न मन्त्रालयका लागि छाया मन्त्रीसमेत प्रस्ताव गर्दै सरकारको नीति, कार्यक्रम र निर्णयहरूको निरन्तर समीक्षा गर्ने रणनीति बनाएको हो।
प्रस्तावित संरचनाअनुसार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। उनको नेतृत्वमा छाया सरकारले सरकारका कामकारबाहीमाथि निगरानी राख्दै वैकल्पिक नीति र दृष्टिकोण प्रस्तुत गर्ने बताइएको छ।
आन्तरिक सुरक्षा, शान्ति व्यवस्था र प्रशासनिक संयन्त्रको अनुगमनका लागि प्रकाशसिंह कार्कीलाई छाया गृह मन्त्री बनाउने प्रस्ताव गरिएको छ। आर्थिक नीति, बजेट तथा राजस्व व्यवस्थामाथि निगरानी गर्ने जिम्मेवारी नरेन्द्रकुमार केरुङलाई दिइने भएको छ।
त्यस्तै, कूटनीतिक मामिला र परराष्ट्र नीतिको समीक्षा गर्न सुनिलबहादुर थापालाई छाया परराष्ट्र मन्त्रालयको नेतृत्व सुम्पिने प्रस्ताव गरिएको छ। भौतिक पूर्वाधार तथा विकास आयोजनाको मूल्याङ्कनका लागि मोहन आचार्यलाई छाया पूर्वाधार विकास मन्त्री बनाइने भएको छ।
शिक्षा सुधार, युवा विकास र खेलकुद क्षेत्रको अनुगमन गर्न डा. फिर्दोष आलमलाई छाया शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्वास्थ्य सेवा, खाद्य सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित विषयको निगरानीका लागि डा. चन्द्रमोहन यादवलाई छाया स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री प्रस्ताव गरिएको छ।
उद्योग, व्यापार र बजार व्यवस्थापनका विषयमा विष्णुबहादुर खड्काले छाया उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गर्नेछन्। कृषि, वन तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै डा. प्रमिला कुमारी गच्छदारलाई छाया कृषि, वन तथा पर्यावरण मन्त्री बनाउने प्रस्ताव गरिएको छ।
कानुनी शासन, न्यायिक सुधार र संसदीय अभ्यासलाई प्रभावकारी बनाउन खम्मबहादुर खातीलाई छाया कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। राष्ट्रिय सुरक्षा र रक्षा मामिलाको निगरानीका लागि खड्ग शाहीलाई छाया रक्षा मन्त्री प्रस्ताव गरिएको छ।
सूचना प्रविधि, डिजिटल पूर्वाधार र सञ्चार क्षेत्रको अनुगमन गर्न मनमाया विश्वकर्मालाई छाया सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व दिइएको छ। युवा, श्रम तथा रोजगारीका मुद्दालाई प्राथमिकता दिँदै गीता गुरुङलाई छाया युवा, श्रम तथा रोजगार मन्त्री बनाइने भएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा वैकल्पिक नीति निर्माणका लागि संदीप रानालाई जिम्मेवारी दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका ठूला आयोजनाको निगरानीका लागि सन्तोष सुब्बालाई छाया ऊर्जा मन्त्री प्रस्ताव गरिएको छ।
सामाजिक न्याय, समावेशीकरण तथा सामाजिक सुरक्षाका विषय हेर्न डा. गंगालक्ष्मी अवाललाई छाया महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सुम्पिने प्रस्ताव गरिएको छ।
संघीयता कार्यान्वयन, स्थानीय तह र प्रशासनिक सुधारको अनुगमनका लागि जनकराज गिरीलाई छाया भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा नागरिक उड्डयन क्षेत्रको समीक्षा गर्न युवा नेता योगेश गौचनलाई छाया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रस्ताव गरिएको छ।
कांग्रेसले छाया सरकारमार्फत सरकारका निर्णय र कार्यसम्पादनको निरन्तर समीक्षा गर्दै जनतासामु वैकल्पिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस