प्रधानमन्त्री बालेन्द्र शाहलाई विस्थापित गर्ने खेल भइरहेको छ: डा. सीके राउत
मधेसी नेताहरूलाई स्थापित हुन नदिन राज्यले विभिन्न अस्त्र प्रयोग गरेको गुनासो
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणलाई मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीतिको रूपमा टिप्पणी गरेका छन्। सभापति लामिछानेले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तापछि डा. राउतले सामाजिक सञ्जालमार्फत यस्तो गम्भीर राजनीतिक आशङ्का व्यक्त गरेका हुन्।
लामिछाने र प्रधानमन्त्री मोदीबिचको भेटघाट सार्वजनिक भए लगतै अध्यक्ष राउतले यो भ्रमण मधेसी समुदायलाई शक्तिहीन बनाउने अर्को योजना नहोस् भनी सचेत गराएका छन्।
वर्तमान राजनीतिक परिदृश्यको चर्चा गर्दै डा. राउतले इतिहासमै पहिलो पटक मधेसी समुदायका बालेन्द्र शाह प्रधानमन्त्री बनेको अवस्थामा उनको विकल्प खडा गर्न खोजिएको दाबी गरे। "चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेसी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ," राउतले भनेका छन्, "तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेसीलाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।"
उनले सभापति लामिछानेको भारत भ्रमणको भित्री उद्देश्य वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउने खेलसँग जोडिएको दाबी समेत गरे।
नेपालको राजनीतिक इतिहासमा मधेसी नेताहरूमाथि सधैँ प्रहार हुने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले विगतको स्मरण गराए। तराई कांग्रेसको स्थापनाकालदेखि हालको जसपा नेपाल र जनमत पार्टीसम्म आइपुग्दा कुनै पनि मधेसी नेतृत्वलाई देशमा स्थापित हुन नदिइएको उनको टिप्पणी छ।
मधेसी नेताहरूलाई स्थापित हुन नदिन राज्यले विभिन्न अस्त्र प्रयोग गरेको गुनासो गर्दै उनले भने, "चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस् वा शून्यमा झारेर होस्, मधेसी नेताहरूलाई सधैँ पाखा लगाइएको छ।"



तपाईको प्रतिक्रिया दिनुहोस