रास्वपा मधेस प्रदेश अधिवेशनमा एकाएक 'ब्रेक'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक जरुरी सूचना जारी गर्दै अधिवेशनका सम्पूर्ण कार्यक्रम रोकेको जानकारी दिएको हो।
अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया स्थगित गरिएको आयोगले जनाएको छ। यो निर्णयसँगै प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू तत्कालका लागि ठप्प भएका छन्। आयोगले पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै यो कदम चालेको स्पष्ट पारेको छ।
अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिने बताएको छ। साथै, अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता-कार्यकर्ताहरूलाई कडा निर्देशन दिइएको छ।
उक्त सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग र मधेस प्रदेश समितिलाई समेत पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस