Techie IT
२०८३ जेष्ठ २७, बुधबार

मदन भण्डारी र सुशील कोइरालाको मृत्युवारे पनि छानबिन गरियोस् : अध्यक्ष घिसिङ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारी, सुशील कोइरालालगायत चर्चित घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले विभिन्न घटनालाई लिएर लामो समयदेखि उठिरहेका शङ्का र प्रश्नहरूको जवाफ खोज्न स्वतन्त्र र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका हुन् ।

गृहमन्त्रीले राजदरबार हत्याकाण्डको छानबिन गरिने बताएका विषयलाई स्वागत गर्दै उनले छानबिन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र विश्वसनीय हुनुपर्नेमा जोड दिए। ‘राजदरबार हत्याकाण्डको छानबिन गर्ने भनिएको छ, हामी त्यसको स्वागत गर्छौँ। तर केही व्यक्तिलाई जोगाउने वा औपचारिकतामा सीमित हुने गरी छानबिन गरियो भने त्यसको कुनै अर्थ रहँदैन,’ उनले भने।

घिसिङले दरबार हत्याकाण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको समेत भूमिका हुनसक्ने आशङ्का व्यक्त गर्दै अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा अनुसन्धान गर्नुपर्ने धारणा राखे।

उनले मदन भण्डारीको मृत्युबारे पनि वर्षौँदेखि हत्या भएको दाबी गरिँदै आएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य सार्वजनिक गर्न छानबिन आवश्यक रहेको बताए।

‘मदन भण्डारीको घटनालाई पटक–पटक हत्या भनिएको छ। त्यही पार्टी पटक–पटक सरकारमा पुग्दा पनि किन छानबिन भएन ? यसको स्पष्ट उत्तर आउनुपर्छ,’ उनले भने।

त्यस्तै, पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे पनि विभिन्न शङ्का उठ्दै आएको भन्दै त्यसको समेत छानबिन गर्नुपर्ने उनको माग थियो।

घिसिङले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनामात्र नभई निर्मला पन्त हत्या प्रकरण, टिकापुर घटनालगायत चर्चित र विवादित घटनाको पनि निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्ने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट