बेइजिङ प्रस्थान गरे परराष्ट्रमन्त्री खनाल, चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता हुने
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार चीन बसाइका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल परिमार्जन गर्ने विषयमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। भ्रमणका क्रममा उनले चीनका अन्य उच्च राजनीतिक नेतृत्व र सरकारी अधिकारीहरूसँग पनि छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
नेपालमा चिनियाँ लगानी भित्र्याउने र आर्थिक साझेदारी बढाउने उद्देश्यका साथ बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने 'लगानी सम्मेलन'मा समेत मन्त्री खनाल सहभागी हुनेछन्। सो अवसरमा उनले चिनियाँ उद्यमी तथा वस्तु उत्पादक संघका प्रतिनिधिहरूसँग नेपालमा लगानीका सम्भावना र सहुलियतबारे विशेष छलफल गर्नेछन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले स्वागत समारोहको आयोजना गर्नेछ। उक्त समारोहमा उनले चीनमा रहेका नेपाली समुदाय तथा व्यवसायीहरूसँग अन्तरक्रिया समेत गर्नेछन्। परराष्ट्रमन्त्री खनाल आफ्नो चार दिने भ्रमण सम्पन्न गरी आगामी असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस