Techie IT
२०८३ असार १, सोमबार

बजेट पेश गरेर पनि भित्रभित्रै रकम थपघट गरिँदैछ, यस्तो लुट बन्द गरियोस् : प्रमुख सचेतक दुलाल

किन आजसम्म रातो किताब आउँदैन ?


सत्तारूढ दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक संसदमा प्रस्तुत गरेलगत्तै मन्त्रालयगत विस्तृत कार्यक्रम र बजेट विवरण (रेडबुक) सार्वजनिक नगरेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले अर्थमन्त्रीले विनियोजन विधेयक पेश गरेलगत्तै मन्त्रालयगत कार्यक्रम तथा बजेटका विस्तृत विवरणहरू डिजिटल माध्यमबाट तत्कालै उपलब्ध गराइने अपेक्षा गरिए पनि त्यसो हुन नसक्नु रहस्यमय भएको बताए।

युवा मन्त्रीहरूको नेतृत्व रहेको वर्तमान सरकारबाट सुशासन र पारदर्शिताको नयाँ अभ्यास हुने विश्वास जनताले गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले टिप्पणी गरे। बजेट भाषणअघि नै विनियोजनको सम्पूर्ण प्रक्रिया टुङ्गिने भएकाले सबै विवरण डिजिटल रूपमा तयारी अवस्थामा रहने भए पनि त्यसलाई गुमराहमा राखेर सार्वजनिक गर्न ढिलाइ गरिएको प्रति उनले कडा प्रश्न उठाए।

सचेतक दुलालले विनियोजन विधेयक सदनमा पेश भएसँगै मन्त्रालय तथा निकायगत कार्यक्रम पुस्तिका सांसदहरूलाई उपलब्ध गराइनुपर्ने कानुनी र नैतिक नियम रहेको स्मरण गराए। तर कतिपय मन्त्रालयले हालसम्म पनि कार्यक्रम पुस्तिका नलगाएको भन्दै उनले रोष प्रकट गरेका छन् ।

उनले संसदमा भने- ‘किन १८ दिन लाग्छ ? किन आजसम्म रातो किताब आउँदैन ? विस्तृत अध्ययनबिनै हामीले संशोधन प्रस्ताव र धारणा राख्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको छ। भोलि छलफल हुने केही मन्त्रालयको बजेट विनियोजन सम्बन्धी पुस्तकसमेत अझै उपलब्ध भएको छैन। कार्यक्रम पुस्तिका नै नपाई हामी खर्च कटौतीको प्रस्ताव दर्ता गर्न बाध्य भएका छौँ, यो कस्तो सुशासन हो ?’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट