Techie IT
२०८३ असार २, मंगलबार

बेइजिङमा परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच विभिन्न क्षेत्रमा सहकार्य बढाउने सहमति


नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काको प्राथमिकता र संवेदनशीलतालाई आत्मसात् गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ। दुई देशबीच पूर्वाधार, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य गर्ने सहमति भएको हो।

चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय समिति राजनीतिक ब्युरो सदस्य एवं विदेशमन्त्री वाङ यीबीच मंगलबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यमा आधारित नेपाल–चीन सम्बन्धका समग्र आयामबारे गहन छलफल भएको छ।

नेपाली पक्षले 'एक चीन सिद्धान्त' प्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारेको छ। चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएको छ। साथै, सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई सघाउने आश्वासन समेत दिएको छ।

बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, दुवै पक्षले विगतमा भएका सहमति तथा परियोजनाहरूलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका साथै बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा थप सहकार्य गर्ने विषयमा समेत जोड दिइएको छ।

द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो। यसअघि मंगलबार नै परराष्ट्रमन्त्री खनालले चीनको कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा दुई देशका राजनीतिक दलहरूबीचको अनुभव आदानप्रदान र नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भ्रमणकै क्रममा मन्त्री खनालले बेइजिङस्थित 'चाइनिज एकेडेमी अफ साइन्सेज' अन्तर्गतको 'इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्च' को अवलोकन गरेका छन् । उनले उक्त संस्थान र नेपालको त्रिभुवन विश्वविद्यालयसहितका संस्थाहरूबीच भइरहेको शैक्षिक तथा वैज्ञानिक सहकार्यबारे जानकारी लिनुभएको थियो। 

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएका परराष्ट्रमन्त्री खनाल आफ्नो भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट