आरजु लाई अख्तियारले डाम्दा गगन खुशी, भने पासपोर्ट काण्डको अन्त्यसम्म छानबिन होस्
नेपाली कांग्रेसका सभापति गगन थापाले चर्चित पासपोर्ट काण्डको निष्पक्ष र प्रभावकारी छानबिन गरी निष्कर्षमा पुर्याउन सरकारसँग माग गरेका छन्। थापाको यो माग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्टको ठेक्कामा अनियमितता भएको भन्दै शेर बहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि संलग्नता भएको हुन सक्ने भन्दै तीन दिन भित्र बयानका लागि हाजित हुन उनको बुढानिल्कण्ठ स्थित जलाएको घरमा सुचना टासिएको एक दिन पछि आएको हो ।
नेपाली कांग्रेसको नियमित संवाद शृंखला ‘ग्रिन टेबल’मा बोल्दै थापाले पासपोर्ट काण्डबारे अनुसन्धान सुरु भएकोमा सन्तोष व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन छानबिनलाई अन्तिम निष्कर्षसम्म पुर्याउनुपर्ने बताए।
“पासपोर्ट काण्डबारे छानबिन सुरु भएको भन्ने थाहा भयो, यो छानबिन हुनैपर्छ,” उनले भने, “तर त्यसक्रममा विधि, प्रक्रिया र कानुनलाई अनिवार्य रूपमा पालना गर्नुपर्छ।”
थापाले नेपाली कांग्रेसले सुरुदेखि नै राज्य र पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा आफूहरू अहिले पनि दृढ रहेको बताए।
सरकारले आर्थिक अनियमितता तथा भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कारबाही गर्न गठन गरेको सम्पत्ति छानबिन आयोगको प्रक्रिया र कानुनी आधारबारे भने उनले प्रश्न उठाए। सम्पत्ति छानबिन आवश्यक भए पनि कानुनी विधि र प्रक्रियालाई मिचेर अघि बढ्न नहुने उनको भनाइ थियो।
“हामी भ्रष्टाचारको विरुद्धमा लडेर आएका हौं। तर अहिले सबैलाई एउटै डालोमा हालेर दोषी देखाउने भाष्य निर्माण गर्न खोजिएको छ,” थापाले भने, “त्यसैले हामी आफूसहित सबैको सम्पत्ति छानबिन गरियोस् भन्छौं। तर त्यो काम कानुन र विधिको दायराभित्र हुनुपर्छ।”
उनले शासकीय सुधारका आवश्यक कानुनी संरचना निर्माण नगरी सम्पत्ति छानबिनमा हतार गर्दा जनताले अपेक्षा गरेको सुशासन फेरि पनि अधुरै रहने जोखिम रहेको बताए।
थापाका अनुसार संसदबाट वैधानिक रूपमा शक्तिशाली छानबिन आयोग गठन गरिएको भए त्यसको अधिकार क्षेत्र स्पष्ट हुने, अनुसन्धान प्रक्रिया थप प्रभावकारी बन्ने र जनविश्वाससमेत बढ्ने थियो।
सभापति थापाले नेपाली कांग्रेसले आयोगलाई आफ्नो सम्पत्ति विवरण उपलब्ध गराउने स्पष्ट पार्दै विधि र कानुनको पक्षमा निरन्तर आवाज उठाइरहने बताए।
“विधि र कानुनभन्दा माथि कोही हुँदैन। हामी आयोगलाई सम्पत्ति विवरण बुझाउँछौं। तर विधि र प्रक्रियाका विषय पनि सँगसँगै उठाइरहन्छौं” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस