रास्वपा महाधिवेशनः मतदान जारी, मध्याह्न १२ बजेसम्म मतदान सकिने
एक प्रतिनिधिलाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हिजो मध्यरातदेखि सुरु भएको मतदान प्रक्रिया जारी छ। विद्युतीय माध्यमबाट भइरहेको मतदानमा बिहानसम्म उल्लेख्य सहभागिता देखिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि मतदान भइरहेको छ। निर्वाचन आयोगले बिहान सवा ६ बजेसम्म १ हजार ५७९ मत खसेको जनाएको छ। पछिल्लो विवरणअनुसार हालसम्म करिब १ हजार ८ सय हाराहारीमा मतदान भइसकेको छ।
महाधिवेशनमा करिब ४ हजार २ सय प्रतिनिधि मतदाता सहभागी छन्। निर्वाचनमा कुल ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ९९ केन्द्रीय सदस्य पदका लागि २०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
विद्युतीय मतदान व्यवस्थापनको जिम्मा लिएको रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको छ। उनका अनुसार ८० वटा मेसिनमार्फत मतदान भइरहेको छ र एक प्रतिनिधिलाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ। यही गतिमा मतदान भइरहे मध्याह्न १२ बजेसम्म प्रक्रिया सम्पन्न हुने अनुमान गरेको रिमालले बताएका छन्।
यसअघि निर्वाचनको समयतालिका पटक–पटक सारिएपछि अन्ततः बुधबार राति १२ बजेपछि मतदान सुरु गरिएको हो। मतदान सुरु भएसँगै महाधिवेशन प्रतिनिधिहरू लामबद्ध रूपमा मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरिरहेका छन्।
रास्वपाका सभापति पदमा भने रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचनमार्फत पार्टीको केन्द्रीय समिति तथा विभिन्न पदाधिकारी चयन गरिनेछ।
गत असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी नेतृत्व तय गर्ने महत्वपूर्ण राजनीतिक प्रक्रियाका रूपमा हेरिएको छ।
निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना सकाएर नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। त्यसैले आजै रास्वपाको नयाँ नेतृत्वको तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस