Techie IT
२०८३ असोज ९, शुक्रबार

रास्वपाको प्रदेश खारेजी प्रस्तावविरुद्ध आन्दोलनको तयारी


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो महाधिवेशनबाट प्रदेश संरचना खारेज गरी संघीयताको पुनर्संरचना गर्ने प्रस्ताव पारित गरेपछि त्यसको विरोधमा मधेसमा आन्दोलनको तयारी सुरु भएको छ।

शनिबार मधेसकेन्द्रित विभिन्न दलका नेताहरू तथा नागरिक समाजका अगुवाहरूको बैठक बसेर संघीयता जोगाउन गैरदलीय आन्दोलन अघि बढाउने निर्णय गरेका छन्।

बैठकमा जनता समाजवादी पार्टी (नेपाल)का संरक्षक तथा राष्ट्रियसभा सदस्य महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, रामकुमार शर्मालगायत नेताहरू तथा केही नागरिक अगुवाको सहभागिता रहेको थियो।

बैठकमा सहभागी एक नेताका अनुसार आन्दोलन सञ्चालनका लागि छुट्टै गैरदलीय संगठन गठन गरिनेछ। उक्त संगठन राजनीतिक दलका रूपमा नभई संघीयता संरक्षणका लागि साझा अभियान सञ्चालन गर्ने मञ्च हुनेछ, जसमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरू सहभागी रहनेछन्।

ती नेताका अनुसार रास्वपा सुरुदेखि नै संघीयता पुनरावलोकनको पक्षमा रहेको र महाधिवेशनबाट पारित प्रस्तावले त्यसलाई औपचारिक रूपमा पुष्टि गरेको निष्कर्ष बैठकले निकालेको छ।

संघीयता जोगाउन दलगत सीमाभन्दा माथि उठेर सबै राजनीतिक शक्ति, नागरिक समाज तथा सरोकारवाला पक्षलाई एकताबद्ध गर्दै आन्दोलन अघि बढाउने सहमति भएको जनाइएको छ।

यद्यपि आन्दोलनको नेतृत्व कसले गर्ने र गठन हुने संगठनको नाम के हुने भन्ने विषयमा भने अझै निर्णय भइसकेको छैन। बैठकमा सहभागी नेताका अनुसार आन्दोलनलाई गैरदलीय स्वरूपमै अघि बढाउने विषयमा भने सहमति जुटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट