रास्वपामा तीन शक्तिशाली आयोग गठन, अनुशासन आयोग प्रमुखमा पूर्वन्यायाधीश पौडेल
पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक सुदृढीकरण र दलीय अनुशासन कायम गर्ने एक्सनमा उत्रिएको छ। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको रास्वपाको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशनबाट अनुमोदित विधानबमोजिम पार्टीका तीनवटा शक्तिशाली आयोगहरू गठन गरेको छ।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठकले निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गर्ने निर्णय गरेको हो। जसअन्तर्गत निर्वाचन र लेखा आयोगको पुरानो संरचनालाई पूर्ण रूपमा भङ्ग गर्दै यसअघि नै जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई नै पुनः कमान्ड सुम्पिएको छ।
सबैभन्दा महत्त्वपूर्ण मानिएको अनुशासन आयोगको प्रमुख (संयोजक) मा रास्वपाले उच्च अदालत कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई मनोनीत गरेको छ। पार्टीभित्र बढ्दो आन्तरिक विवाद र अनुशासनहीनतालाई रोक्न पूर्वन्यायाधीशलाई यो जिम्मेवारी दिइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
बैठकमा पार्टीका अन्य बाँकी पदाधिकारीहरूको मनोनयनबारे भने कुनै छलफल भएन। महामन्त्री आचार्यले बाँकी पदाधिकारी चयन गर्ने कुरा पार्टी सभापतिको एकल विशेषाधिकार भएकाले सभापतिको निर्देशन र तयारी अनुसार आगामी बैठकहरूबाट मात्रै यसलाई अगाडि बढाइने स्पष्ट पारे।
यसैगरी, केन्द्रीय समिति बैठकले पहिलो महाधिवेशनलाई भव्य रूपमा सफल पार्न अहोरात्र खटिने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मी तथा शुभेच्छुकहरूलाई धन्यवाद दिँदै विशेष धन्यवाद प्रस्ताव समेत पारित गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस