प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले प्रतिवेदन पेस गर्ने
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारमा सुरु हुने कार्यसूची रहेको छ। आजको बैठकमा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने तथा अन्तर्राष्ट्रिय श्रम सम्झौताहरू अनुमोदनका लागि छलफल गर्ने तयारी गरिएको छ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्नुहुने कार्यसूची रहेको छ। मन्त्री गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’ तथा ‘लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार)’ संसद् समक्ष प्रस्तुत गर्नुहुनेछ।
यसैगरी, आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले दुईवटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम सन्धिहरू अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ। मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस