बलात्कार मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख दोषी ठहर, सजाय निर्धारण बिहीबार हुने
काठमाडौँ जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा 'अहिराज' लाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आगामी असार ३२ गते बिहीबारका लागि पेशी तोकेको छ।
त्यस्तै, पीडित युवतीले आफूलाई बलात्कारको झूटो आरोप लगाएर २० लाख रुपैयाँ माग गरेको दाबी गर्दै अहिराजले दायर गरेको 'आपराधिक लाभ' सम्बन्धी मुद्दामा भने अदालतले दाबी नपुग्ने भन्दै युवतीलाई सफाइ दिएको छ।
पहिचान, भाषा र संघीयताका सवालमा 'मधेशवाणी साप्ताहिक' मार्फत कलम चलाउँदै आएका झा नेपाल ल क्याम्पसबाट एलएलबी र त्रिभुवन विश्वविद्यालयबाट 'मधेश आन्दोलन र मधेशवाद' मा पीएचडी गरेर बौद्धिक छवि बनाएका व्यक्ति हुन्। पछि राष्ट्रवादी र मधेश केन्द्रित विचारका कारण लोकप्रियता कमाएका उनलाई २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेश प्रदेशको प्रमुख नियुक्त गरेको थियो। तर, सरकार परिवर्तनसँगै उनी सो पदबाट हटेका थिए।
के थियो मुद्दा ?
एक २३ वर्षीया युवतीले आफू १७ वर्षको उमेर (नाबालिग अवस्था) देखि नै झाबाट यौनिक तथा मानसिक शोषणमा परेको आरोप लगाउँदै सुरुमा राष्ट्रिय महिला आयोग र पछि काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। जाहेरीमा २०८१ जेठ ४ गते थापागाउँस्थित आफ्नै कोठामा एक्लै भएको मौका छोपी पावर र पैसाको धम्की दिँदै जबरजस्ती करणी गरेको उल्लेख थियो।
लामो समय फरार रहेका झालाई प्रहरीले २०८२ साउन ४ गते काठमाडौँबाट पक्राउ गरेको थियो।
सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ बमोजिम मुद्दा दर्ता गर्दै ७ देखि १० वर्ष कैद सजायको माग गरेको थियो। जिल्ला अदालत काठमाडौँले २०८२ साउन १४ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने पाटन उच्च अदालतले भदौ १२ गते उक्त आदेशलाई सदर गरेको थियो। हाल उनी केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। पीडित घटना हुँदा वयस्क (२३ वर्ष) भइसकेकाले मुलुकी अपराध संहिताको दफा २१९ (३)(ङ) बमोजिम उनलाई सजाय तोकिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस