निर्मल पुर्जाको सकुशल उद्धारका लागि अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले पाकिस्तानको ब्रोड पिक (Broad Peak) क्षेत्रमा हिमपहिरोको चपेटामा परी सम्पर्कविहीन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स) को खोजी तथा उद्धारका लागि उपलब्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न जोडदार माग गरेको छ।
शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा कांग्रेसले पुर्जाको अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गर्दै उनको सकुशल उद्धारका लागि कामना गरेको छ। कांग्रेसले पाकिस्तान सरकार, सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई स्रोत, साधन, प्रविधि र विशेषज्ञ जनशक्तिको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ।
नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै कांग्रेसले भनेको छ, "पाकिस्तानस्थित नेपाली दूतावास र सम्बन्धित निकायहरूसँग उच्चस्तरीय कूटनीतिक समन्वय गरी उद्धारमा सक्रिय भूमिका खेलियोस्। आवश्यक परेमा नेपाली पर्वतारोहण तथा उद्धार विज्ञहरूको टोली पठाउने सम्भावनाबारे पनि तत्काल अध्ययन होस्।"
विज्ञप्तिमा पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर राखेको विश्व कीर्तिमान र के–टु (K2) को पहिलो सफल शीतकालीन आरोहणमा पुर्याएको योगदानको स्मरण गरिएको छ। साथै, 'बियोन्ड पसिबल' (Beyond Possible) पुस्तक र '१४ पिक्स' (14 Peaks) वृत्तचित्रमार्फत उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ स्थापित गर्न पुर्याएको योगदानको पार्टीले उच्च कदर गरेको छ।
कांग्रेसले निर्मल पुर्जालाई साहस, आत्मविश्वास र राष्ट्रिय गौरवको प्रतीकका रूपमा लिँदै उनको परिवार र शुभेच्छुकप्रति ऐक्यबद्धता प्रकट गरेको छ। पुर्जा छिट्टै सकुशल स्वदेश फर्किनेमा कांग्रेसले दृढ विश्वास व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस