मधेस घटना सुनियोजित भन्दै मधेस केन्द्रित दलले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट गर्दै तराई-मधेसका पछिल्ला हिंसात्मक घटनाहरू 'सुनियोजित' भएको आरोप लगाएका छन्। प्रधानमन्त्री निवासमा भएको छलफलमा उनीहरूले घटनाको प्रकृति र सरकारको कार्यशैली शङ्कास्पद रहेको भन्दै कडा आपत्ति जनाएका हुन्।
छलफलका क्रममा नेताहरूले घटना भएको समयमा स्थानीय प्रहरी नेतृत्वको अनुपस्थिती, नियोजित रूपमा विद्युत् अवरुद्ध हुनु र सीमा क्षेत्रमा रोहिंग्या शरणार्थीको प्रवेशलाई रोक्न नसक्नुले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। नेता रामकुमार शर्माले घटनाको समयमा गृहमन्त्री सुधन गुरुङ मधेस नजानु र नेपाली सेनालाई फिल्डमा उतार्नुले घटनाको नियतमा शङ्का पैदा गरेको बताए। साथै, उनीहरूले श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ र गृहमन्त्री गुरुङको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्।
आरोपहरूको जवाफ दिँदै प्रधानमन्त्री बालेनले घटनामा कुनै पनि प्रकारको राजनीतिक षड्यन्त्र नरहेको दाबी गरेका छन्। उनले गृहमन्त्रीको मधेस भ्रमणलाई लिएर उठेका प्रश्नमा भने, "आन्दोलनको राप बढिरहेका बेला गृहमन्त्री त्यहाँ पुग्दा थप आशङ्का र उत्तेजना पैदा हुन सक्ने भएकाले सुरुमा सावधानी अपनाइएको हो, तर सुरक्षा अवस्थाबारे उहाँले निरन्तर संवाद र सूचना लिइरहनुभएको थियो।"
प्रहरीसँग दङ्गा नियन्त्रणसम्बन्धी आवश्यक तालिमको अभाव रहेको स्वीकार गर्दै प्रधानमन्त्री बालेनले भने, "दुर्भाग्यवश, अहिलेसम्म ज्यान गुमाएका व्यक्तिहरू प्रहरीकै गोलीबाट परेका छन्।" उनले अब प्रहरीलाई दङ्गा नियन्त्रणको विशेष तालिम दिने र शान्ति सुरक्षा कायम गर्नकै लागि सेनालाई परिचालन गरिएको जानकारी दिए।
सङ्घीयताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री बालेनले मैथिली भाषामा भने, "राजतन्त्र फर्किने, सङ्घीयता खारेज हुने वा हिन्दु राष्ट्र घोषणा हुने कुरा केवल अफवाह हुन्। म सङ्घीयताको विपक्षमा जाने कल्पनासम्म गर्न सक्दिनँ।"



तपाईको प्रतिक्रिया दिनुहोस