संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक छ: सहसंयोजक नेपाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरूबीच बलियो एकता हुनुपर्नेमा जोड दिएका छन्। आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, सङ्घीयता, समावेशिता तथा मौलिक हकजस्ता संवैधानिक अधिकारहरूको संरक्षण र पूर्ण कार्यान्वयनका लागि कार्यगत एकता अपरिहार्य रहेको औँल्याएका हुन्।
सहसंयोजक नेपालले भने, “संविधान सामान्य प्रक्रियाबाट आएको होइन, अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ। जनतालाई सुशासनसहितको सेवा प्रवाहमा सबै एक भई अगाडि बढ्नुको विकल्प छैन।”
उनले आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रलगायत सीमान्तकृत समुदायको संवैधानिक अधिकारको संरक्षण गर्नु सबैको प्रमुख दायित्व भएको बताए।
वर्तमान सरकारप्रति जनताको तीव्र अपेक्षा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले जनताको चाहना र भावनाअनुसार सरकारले काम गर्नुपर्ने धारणा राखे। उनले गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्यमा सरकारले थप तीव्रता दिनुपर्ने माग गरे।
“देश अहिले विपत्मा छ, बाढीका कारण ठूलो जनधनको क्षति भएको छ,” उनले भने, “खोजी कार्यमा सरकारले आफ्ना उपलब्ध स्रोतसाधन मात्रै होइन, विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूलाई समेत उद्धार र राहतमा सक्रिय रूपमा परिचालन गर्न सक्नुपर्छ।”
यसैबिच, नेता नेपालले गत भदौ २३ र २४ गते भएको घटनाका सम्बन्धमा समेत निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस