राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलकुद सप्ताह सुरु
संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा शनिबारदेखि खेलकुद सप्ताह सुरु भएको छ। नेपाल पुलिस बोर्डिङ स्कुलमा आयोजित एक समारोहबीच प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले खेलकुद सप्ताहको उद्घाटन गर्नुभएको हो।
प्रतिष्ठानका अनुसार असोज १० गतेसम्म सञ्चालन हुने यस खेलकुद सप्ताहअन्तर्गत भलिबल, फुटबल, दौड, र क्रिकेटलगायत विभिन्न विधाका १७ वटा खेलहरू आयोजना गरिएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रजिस्ट्रार प्रा. लम्सालले खेलकुदले शारीरिक स्वास्थ्यका साथै मानसिक स्फूर्ति, अनुशासन, आपसी सहकार्य र संस्थागत एकताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी शिक्षक, कर्मचारी, चिकित्सक, नर्स तथा विद्यार्थीबीचको सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा लिइएको उहाँको भनाइ थियो।
प्रतिष्ठानको विकास र उन्नतिमा आबद्ध सबैको सामूहिक भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले वार्षिकोत्सवका कार्यक्रमहरूले संस्थाभित्र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक सहप्रा. डा. सुरेश रसाइलीसहित शिक्षक, कर्मचारी, चिकित्सक, नर्स तथा एमबीबीएस र नर्सिङका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रतिष्ठानले नवौँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ भने वार्षिकोत्सवको मुख्य समारोह आगामी असोज १२ गते प्रतिष्ठानको सभा हलमा भव्य रूपमा आयोजना हुनेछ। उक्त मुख्य समारोहमा प्रतिष्ठानको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू र आगामी योजना सार्वजनिक गरिने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस