Techie IT
२०८३ असोज ३, शनिबार

कति पटक प्रधानमन्त्री र अध्यक्ष हुने? अब ससम्मान बिदा हुनुस् - डा. भीम रावल


वामपन्थी दलहरू कमजोर हुनुमा बाह्य शक्तिभन्दा पनि नेतृत्वको पदमोह, अवसरवादी प्रवृत्ति, वैचारिक विचलन र कम्युनिस्ट आचरणको अभाव मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ। पुष्पलाल मित्रता केन्द्रद्वारा बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी विभिन्न दलका प्रभावशाली नेताहरूले विगतका गम्भीर कमजोरीको आत्मसमीक्षा गर्दै नेतृत्व परिवर्तन र पुस्तान्तरणको प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले नेतृत्वको पदमोह र अवसरवादी चरित्रले कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाएको दाबी गरेका छन् । गत वर्षको जेनजी आन्दोलनपछि कम्युनिस्ट पार्टीहरू थप कमजोर बनेको औंल्याउँदै उनले प्रश्नगर्दै भने, “मानिस कति पटक प्रधानमन्त्री भएपछि, कति पटक अध्यक्ष भएपछि र कति पैसा भएपछि सन्तुष्ट हुन्छ? अब वैचारिक र साङ्गठनिक रूपमा योगदान दिएकाहरूले ससम्मान बिदा हुनुपर्छ।” राष्ट्रिय अखण्डता र सार्वभौमिकता समेत खतरामा परेका बेला शीर्ष नेताहरूले कुर्सीको मोह त्यागेर वामपन्थी शक्तिलाई एकताबद्ध गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, अर्का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले वर्तमान सरकारविरुद्ध कम्युनिष्ट घटकहरूबीच एकता र कडा संघर्ष आवश्यक रहेको औंल्याएका छन् । आवश्यक परे छोटो समयमै शासनसत्ता परिवर्तन गर्नेगरी आन्दोलनको तयारी गर्नुपर्ने उनको चेतावनी थियो।

नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले निर्वाचनको परिणामले समाजले नेतृत्वप्रति विश्वास गुमाइसकेको देखाएको बताउँदै, एल्गोरिदम वा षड्यन्त्रभन्दा पनि नेतृत्व हस्तान्तरणको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र युवाहरूलाई सदस्यमा मात्र सीमित नराखी तत्काल नेतृत्वमा स्थापित गर्ने नीति लिनुपर्ने उनको धारणा थियो।

पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले २०६४ सालदेखि निरन्तर खस्किँदै गएको वामपन्थी जनमतलाई जोगाउन र राष्ट्रियताको सवालमा साझा धारणा बनाउन देशव्यापी बहस सुरु गरिएको जानकारी दिएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट