गगन थापाको नेतृत्वको महाधिवेशन बहिष्कार गर्ने पूर्णबहादुर खड्काको घोषणा
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू पूर्ण रूपमा अनुपस्थित रहने घोषणा गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई लिएर भएका टिप्पणीहरूको खण्डन गर्दै उनले महाधिवेशन बहिष्कार गर्नुको ठोस कारण सार्वजनिक गरेका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको स्मरण गराउँदै खड्काले भनेका छन्, “विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतका नजिरविपरीत छ। यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो।”
गत प्रतिनिधिसभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेदवार नबनेको स्पष्ट पार्दै उनले परिस्थिति उस्तै दोहोरिएकाले फेरि पनि महाधिवेशनमा सामेल नहुने अडान लिएका छन्।
सर्वोच्च अदालतको निर्णयविरुद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले निस्सा दिएको भए पनि महाधिवेशन रोक्न अन्तरिम आदेश जारी नभएकोमा खड्काले असन्तोष व्यक्त गरेका छन्। “सर्वोच्चबाट पुनरावलोकनको निस्सा दिइएको अवस्थामा पनि महाधिवेशन नरोकिनुले नेपाली कांग्रेस दुईवटा महाधिवेशन हुने र विभाजनको डिलमा पुग्ने स्थिति सिर्जना भएको छ ।” उनले चिन्ता प्रकट गर्दै भने, “यदि कुनै चमत्कार भएन भने पार्टी विभाजन निश्चित छ, तैपनि हामी त्यसलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ।”
देशको यो विषम परिस्थितिमा लोकतन्त्रको लामो इतिहास बोकेको सबैभन्दा ठूलो दल विभाजित हुँदा समग्र देशको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पर्ने उनको ठहर छ।
खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायमूर्तिको ध्यानाकर्षण गराउँदै पार्टीको वैधानिकतासँग जोडिएको पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता बुझेर अग्राधिकारका साथ यथाशीघ्र अन्तिम फैसला गरिदिन विशेष अपिल समेत गरेका छन्। वर्तमान प्रक्रियामा भाग लिनुलाई “चरम अनैतिक कार्य”को संज्ञा दिँदै उनले आफू यस गतिविधिबाट पूर्ण रूपमा अलग रहेको दोहोर्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस