जनताले रोजगारी र सुशासन चाहेका छन् - महासचिव भुसाल

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जनताले रोजगारी र सुशासन चाहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन डडेल्धुद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताको प्रमुख आवश्यकता सुशासन र रोजगारी रहेको बताए ।
महासचिव भुसालले मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै जनताले देखिनेगरी परिवर्तनको अनुभूति गर्न नपाएको धारणा राखेका थिए । “जनताको चासो सत्ता र सत्ताको भागबन्डामा होइन, रोजगार र न्यायमा छ”, उनले भने, “राजनीति जनमुखी हुनुपर्छ, जनताको आवश्यकता र आकाङ्क्षालाई केन्द्रमा राखेर काम गर्नुपर्छ तर त्यसो हुनसकेको छैन ।”
महासचिव भुसालले रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिँदै सरकारलाई नीतिगत सुधार र कार्यान्वयनमा ध्यान दिन आग्रहसमेत गरेका छन् । उनले देशमा देखिएको राजनीतिक अस्थिरता र कुशासनले आमजनताको जीवन प्रभावित बनाएको भन्दै यसबाट बाहिर निस्कन सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस