अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण छैन: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिनुपर्ने परम्परा नभएको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियारमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।
मलाई फसाउने खेल भयो – गृहमन्त्री लेखक
“पछिल्ला तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन्,” उनले भने, “यी सबै उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पदाधिकारीविरुद्ध छन् । अख्तियारले तीमाथि छानबिन गर्दै आएको छ । तर कर्मचारीमाथिको छानबिनकै आधारमा मन्त्रीले राजीनामा दिएको उदाहरण छैन ।”
गृहमन्त्री लेखकका अनुसार सो अवधिमा गृह मन्त्रालयको नेतृत्व तीनजना मन्त्रीले गरेका थिए । अख्तियारले सो अवधिमा मन्त्रालयसँग सम्बन्धित उजुरीमा छानबिन गर्दा पनि कुनै गृहमन्त्रीले पदबाट राजीनामा नदिएको उल्लेख गर्दै उनले भने, “यस्ता विषयमा विवेचना गर्दा वस्तुस्थितिमा आधारित हुन आवश्यक छ ।”
तपाईको प्रतिक्रिया दिनुहोस