मिशन–२०८४ सफल बनाउन बुद्धिजीवीको साथ चाहिन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बौद्धिक वर्गले पार्टीको नीति, कार्यक्रम, योजना र आचरण निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको आज आयोजित कार्यक्रममा उनले एमालेलाई अघि बढाउन प्रभावकारी भूमिका निर्वाह गरी सहजीकरण गरिदिन बुद्धिजीवी वर्गलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले देशमा समाजवाद स्थापनाको स्पष्ट लक्ष्य लिएको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सार्थन बनाउन बौद्धिक वर्गको सहयोग आवश्यक पर्ने धारणा राखेका थिए ।
“समृद्ध नेपाल, सुखी नेपाली भनेको नेपाली ढाँचाको समाजवाद हो, यो ढाँचा निर्माणका लागि बौद्धिक समुदायबाट प्रभावकारी भूमिका खेलिनुपर्छ । नीति, योजना, कार्यक्रम तथा आचरण निर्माणमा कस्ता विषयलाई प्राथमिकता दिने भन्नेमा बौद्धिक वर्गले सहयोग गर्नुपर्छ”, उनले भने ।
उनले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र र बाहिर लोकतान्त्रिक अभ्यास गर्दै आएको बताउँदै एकता र आपसी सद्भावका लागि पार्टी नेतृत्वले सर्वसम्मतिबाट नेतृत्व चयन होस् भन्ने अपेक्षा राख्ने जानकारी दिए ।
एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले एमालले मिसन-२०८४ को लक्ष्य पूरा गर्न बुद्धिजीवी वर्गको महत्त्वपूर्ण भूमिका हुने बताएका थिए । उनले सबै खालका अस्थिरताको अन्त्यका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेकाले त्यसका लागि मिसन-२०८४ नाम दिएर अभियान सञ्चालन गरिएको जानकारी दिएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस