राजावादी समूहद्वारा काठमाडौं उपत्यका बन्दको घोषणा, राजनीतिक दलहरू चुपचाप
२०७७ साल माघ २२ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षले संसद विघटनको विरोधमा आमहड्ताल गरेपछि प्रमुख दलहरूले बन्दको शैली प्रयोग गरेका थिएनन् ।

लामो समयपछि काठमाडौं उपत्यकामा फेरि एकपटक बन्दको घोषणा गरिएको छ । पछिल्लो केही वर्षदेखि अधिकांश राजनीतिक दलहरूले त्यागिसकेको ‘बन्द’ को राजनीति अब राजावादी समूहले फेरि उठाएको छ ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै गठित ‘संयुक्त जनआन्दोलन समिति’ले सोमबार उपत्यका बन्दको घोषणा गरेको हो। समितिका संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको “बर्बर दमनको विरोधमा” आन्दोलनको स्वरूप परिवर्तन गर्दै उपत्यका बन्द गर्न लागिएको जनाएका छन्।
विज्ञप्तिमा सुवेदीले भनेका छन्, “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा जेठ १९ गते उपत्यका बन्दको घोषणा गरिएको हो । आन्दोलनमा सहभागी सबै सहयोद्धालाई आ-आफ्नो टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्दछु ।”
२०७७ साल माघ २२ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षले संसद विघटनको विरोधमा आमहड्ताल गरेपछि प्रमुख दलहरूले बन्दको शैली प्रयोग गरेका थिएनन् । त्यसयता एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूले प्रदर्शन त गरेका छन्, तर बन्द वा हड्तालजस्ता कार्यक्रम घोषणा छोडिसकेका थिए ।
यसपटक भने राजसंस्थाको माग गर्दै आन्दोलनमा उत्रिएको समूहले फेरि बन्दको घोषणा गरेको हो ।
आइतबार काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित ८ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तीमध्ये ७ जनालाई जमानीमा रिहा गरिएको छ भने एक जना अझै हिरासतमा रहेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, “उहाँहरू सबै जना रिहा भइसक्नुभएको छ।” समितिले नेताहरूलाई शान्तिपूर्ण आन्दोलनको क्रममा ‘अमानवीय’ ढंगले पक्राउ गरिएको भन्दै विरोध जनाएको छ । संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राप्रपा नेपालका अध्यक्ष थापालाई प्रहरीले जसरी अमानवीय तरिकाले पक्राउ गर्यो, त्यसको हामी घोर भर्त्सना गर्छौं ।”
तपाईको प्रतिक्रिया दिनुहोस