नयाँ दलले केही गर्न सक्दैनन्, कांग्रेसजस्ता पुराना दल परीक्षणमा पास भइसके: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूमाथि शंका व्यक्त गर्दै कांग्रेसजस्ता पुराना र परिक्षणमा पास भएका दलहरूले मात्र देशको नेतृत्व गर्नसक्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले विभिन्न चरणको राजनीतिक परिक्षामा सफल भइसकेका पुराना दलहरूलाई जनताले अझै प्रश्न गरिरहेकै अवस्थामा नयाँ र परीक्षण नै नभएका दलहरूबाट ठूला अपेक्षा गर्नु अनुचित हुने बताएका हुन् ।
“भर्खर जन्मिएका पार्टीले के गर्छ? टेस्ट नै केही भएको छैन,” सिंहले भने, “हामी त पटक–पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएका छौं ।”
उनले जनताले पटक–पटक अवसर दिँदा पनि पुराना दलप्रति प्रश्न उठाइरहेका सन्दर्भ उल्लेख गर्दै प्रश्न गरे, “परीक्षामा केही नभएका पार्टीहरूको मात्रै कुरा गरियो भने देश कहाँ पुग्छ ?”
सिंहले २००३ सालदेखि जनताको अधिकारका लागि लड्दै आएको नेपाली कांग्रेसलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट भविष्यको आशा गर्नु अस्वाभाविक हुने टिप्पणी पनि गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस